काठमाडौँ। रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गर्दा नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवारसहित चार जना घाइते भएका छन ।
घाइते हुनेमा आठबिसकोट नगरपालिका–८ का वडाध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर बुढा, वडा सदस्य उम्मेदवार रणबहादुर बोहरासहित कांग्रेस कार्यकर्ता मनबहादुर बुढा र अमर बोहरा रहेका छन् । उनीहरुको शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
वाईसिएलका कार्यकर्ताले उम्मेदवार बुढालगायतका कांग्रेस नेतामाथि आक्रमण गरेपछि उनीहरूको घरभित्रको अन्नपात तथा अन्य सामाग्रीमा समेत तोडफोड गरेको पीडित पक्षको आरोप छ । घरका ढोकासमेत तोडफोड गरिएको छ । कांग्रेस कार्यकर्ता अमर बोहराको घरमा भेटघाटका लागि पुगेको क्रममा एक्कासी
आक्रमण भएको बताइएको छ।
वडाध्यक्ष उम्मेदवार चन्द्रबहादुर बुढा मनोनयन दर्ता हुनुअघि माओवादीका कार्यकर्ता थिए ।यहीबीचमा कांग्रेस प्रवेश गरेपछि उनले वडाध्यक्षको टिकट पाएको बताइएको छ ।
रुकुम पश्चिममा केन्द्रको भन्दा फरक राजनीतिक गठबन्धन छ । गठबन्धनको मर्म विपरित यहाँ नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी तालमेल गरिएकाे छ।नगरपालिकादेखि सबै ठाउँको प्रमुखका नेपाली कांग्रेस र उप्रमुखमा एमालेले तालमेल गरी उम्मेदवारी दिएका छन ।
नेकपा माओवादी केन्द्रको रुकुम पश्चिममा एकल उम्मेदवारी परेको छ ।