काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरू चर्चा समेत गर्न लायक नरहेको टिप्पणी गरेका छन्।
अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरूको अधिकारको कुरा भए पनि उनीहरू चर्चा गर्न लायक नभएको बताएका हुन्।
आवश्यकता नै नभएका अन्य दलका उम्मेदवारहरूलाई छोडेर सूर्य चिह्नमा मतदान गरी एमालेका उम्मेदवारहरूलाई विजयी गराउन पनि ओलीले सबैलाई आह्वान गरे। काठमाडौँलाई विश्वकै नमुना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौँ महानगरपालिकाको उम्मेदवार बनाएको पनि बताए।
ओलीले केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारहरूको जोशलाई मिलन गरेर काठमाडौं महानगरपालिकालाई आफ्नो पार्टीले समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे।
ओलीले भने, ‘कसैको उम्मेदवारीको बारेमा म केही भन्न चाहन्नँ। किनभने चर्चा गर्न लायक नै छैनन्। केही कुरा गरिरहनुपर्ने आवश्यकतै छैन। त्यसकारण म कसैको बारेमा केही भनिरहन चाहन्नँ। कतिपय साथीहरूले इच्छा गर्नुभएको छ। इच्छा गर्न पाइन्छ। उहाँहरूको अधिकारको कुरा हो। उहाँहरूले इच्छा गर्नुपर्छ। उहाँहरूको इच्छालाई सलाम गरौं। सूर्यमा भोट हालौँ। एमालेलाई जिताऔं, काठमाडौंलाई सफा गरौं।’