• बैशाख २७ २०८३, आईतवार

१३३औं श्रमिक दिवस : रोजगारी र ज्यालाका कुरा संविधानमै सिमित

बैशाख १८ २०७९, आईतवार

काठमाडौं । आज  १३३औं अन्तरराष्ट्रिय श्रमिक दिवस हो । यो दिवस मनाउन सुरु गर्नुका पछाडी उनीहरुको गौरवपूर्ण इतिहास रहेको छ । यो दिवसले संसार भरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै ल्याएको छ ।

नेपालमा पनि विभिन्न मजदूर संगठनहरुले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिरहेका छन् ।

आज देशभर सरकारी तथा गैरसरकारी क्षेत्रबाट मजदूर दिवससँग सम्बन्धित कार्यक्रमहरु गरिँदैछ ।

२००७ सालको राणा शासनविरुद्ध, २०४६ सालको प्रजातन्त्र स्थापना गर्न तथा २०६२र६३ सालमा गणतन्त्र स्थापना गर्न भएका आन्दोलनहरुमा श्रमिक वर्गको अतुलनीय योगदान रहेको छ ।

आन्दोलनबाटै नेपालका श्रमिकले अधिकार प्राप्त गरेका छन् । संविधान र विभिन्न संघ सस्थाका तथा दलहरुका घोषणापत्रमा त श्रमिमकहरुले अधिकार पाएका छन् तर व्यवहारमा भने पाएका छैनन् ।

फलस्वरुप आज पनि नेपालबाट लाखौं मजदूरहरु कामकालागि विदेश जानु पर्ने बाध्यता रहेको छ । यस्तो अवस्थामा मजदुर विदश मनाउँदा के नै अर्थ रहन्छन् ?

संविधानमा श्रमिका एजेन्डा समावेश गरिएका छन् । संविधानमा मौलिक हकका रूपमा हरेक नागरिकलाई रोजगारीको हक हुने, योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ ।

तर त्यो लागु गरिएको छैन । संविधानमा श्रम अभ्यास र श्रमिकको पारिश्रमिकको हकको सुनिश्चिता भएको छ । बालश्रम, बाधा श्रम निषेध भएको छ । विभिन्न जातीय, लैङ्गिक, क्षेत्रीय, भाषिक, धार्मिक, वैचारिक आधारमा हुने भेदभाव अन्त्य गरी समानताको प्रत्याभूति गरिएको छ ।

तर सरकारले तोकेको पारिश्रमिक सरकारी अड्डाहरुमा नै लागु भइनरहेको अवस्था छ । गैरसरकारी क्षेत्रमा त झन लागू हुने कुरै भएन ।

औपचारिक र अनौपचारिक श्रमिकको भेदभाव हटाएर सबै श्रमिकलाई समान हैसियतको व्यवस्था श्रम ऐनमा गरिएको छ । तर, श्रमिकको हक अधिकारका विषय संविधानमा लेखिए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको छ ।

अझै पनि औपचारिक तथा अनौपचारिक क्षेत्रका धेरै श्रमिक सामाजिक सुरक्षाको हकका साथै न्यूनतम पारिश्रमिकबाट बञ्चित छन् । संविधानले हरेक नागरिकलाई रोजगारीको हक प्रदान गरेको भए पनि कामको अभावमा युवा शक्ति विदेशिएका छन् । दिवसको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।

यसैबीच, दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने बताइन् ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन् ।