• बैशाख २३ २०८३, बुधबार

अटेरीको लौरो खोसिदा निर्वाचन आयोग अगाडि सिँगौरी

बैशाख १७ २०७९, शनिबार

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि गत ११ र १२ गते स्वतन्त्र उम्मेदवारहरूले तामझामका साथ उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्ता गराए पश्चात् उनीहरू परोक्ष रूपमा चुनावी प्रचार–प्रसारमा खटिए ।

स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाहरूलाई निर्वाचन आयोगले आज (शनिबार) चुनाव चिह्न प्रदान गरेको छ । स्वतन्त्र उम्मेदवालाई उम्म्दवारीका आधारमा जिल्लाअनुसार आयोगले चुनाव चिह्न प्रदान गरेको हो । कुनै पनि दलमा संलग्न नभएका र पार्टीबाट टिकट पनि नपाएका बागी उम्मेदवारहरू स्वतन्त्र रूपमा उम्मेदबार हुँदै चुनावी मैदानमा उत्रिएका छन् ।

‘१ लाख ५० हजार मनोनयन दर्ता गर्नेमध्ये १२ हजार ७ सय स्वतन्त्र उम्मेदवार रहेका छन् । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई यसअघि नै तय गरिएका विभिन्न ४० प्रकारका चुनाव चिह्नमध्येबाट कुनै पनि चिन्ह प्रदान गरिने बताए ।

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारका लागि गुलावको फूल, भ्यागुतो, भुइकटहरदेखि खसीको टाउकोसम्मका चिन्ह वितरण गरेको छ । स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूचीअनुसार जिल्ला निर्वाचन कार्यालयदेखि पालिका निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण गरेको हो ।

आयोगले बिरालो, खरायो, जेब्रा, भालु, अर्ना, कंगारूदेखि बँदेलसम्मका जनावरको चिह्न पनि स्वतन्त्र उम्मेदवारलाई प्रदान गरेको छ । चिह्नमा काग, चील, हाँसजस्ता पंक्षीदेखि आँप, भुइँकटहर र केराजस्ता फलफूल तथा गुलाबको फूल पनि छन् ।

त्यस्तै लाल्टिन, मुढा, घण्टाघर ग्यास सिलिन्डर, प्रेसर कुकर, चुलेँसी र कपप्लेटजस्ता सामग्री पनि निर्वाचन आयोगले चुनाव चिह्नका रूपमा राखेको छ । र, तिनै चिह्नहरू आज वितरण गरिएको छ ।

निर्वाचन आयोगमा दल दर्ता भएका तथा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका उम्मेदवारले भने दलगत चुनाव चिह्न पाइसकेका छन् । दलीय चुनाव चिन्ह नेकपा (एमाले)ले सूर्य, नेपाली कांग्रेसले रुख, नेकपा (माओवादी केन्द्र)ले हसिया हथौडा, नेकपा (एकीकृत समाजवादी)ले कलम चिन्ह पाएका छन् भने आयोगमा दर्ता भएका र आयोगले नै मान्यता दिएका दलले यसरी नै आ–आफ्ना चिन्ह पाइसकेका छन् ।
लौरी खोसिदा सिँगौरी

पोखरा महानगरपालिकाको ‘अटेरी अभियान’बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गनेश पौडेललाई चुनाव चिह्न ‘लौरो’ प्रदान गरियो । उनले लौरी चिन्ह पाएको केही घण्टामै खोसिएपछि निर्वाचन कार्यालय अगाडि नारबाजी गरेका थिए ।

आज (शनिबार) निर्वाचन अधिकृतको कार्यालयले वितरण गरिसकेको चुनाव चिह्न खोसेपछि ‘अटेरी अभियान’ले मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरे ।

अटेरी अभियानबाट पोखरा महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार पौडेललाई लौरो चिन्ह प्रदान गरिएको केही घण्टापछि निर्वाचन अधिकृतको कार्यालयले फोनमार्फत् उक्त चुनाव चिह्न दिन नमिल्ने भन्दै खोसेपछि नाराबाजी भएको हो । पौडेलले भने, ‘चुनाव चिह्न लिएर सामाजिक सञ्जालमार्फत् प्रचार गरिसकेपछि निर्वाचन अधिकृतको कार्यालयले खोसेको पौडेलले बताए ।’

निर्वाचन आयोगले भने यसअघि जति स्वतन्त्र उम्मेदवार छन्, त्यहीअनुसार चुनाव चिह्न दिन निर्देशन दिएकाले प्राविधिक कारणले लौरो दिन नसकिने भनेका थियौं, मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले भने, ‘अहिले आठौं लहरमा रहेको मतपत्र छाप्ने भन्ने भएपछि लौरो दिन सकिने निर्णय भएको छ ।’