काठमाडौं । रौतहटमा सामूहिक नरसंहार मच्चाउने पूर्वमन्त्री अफताब आलमविरुद्धको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मुद्दाको सुनुवाइ आज हुने भएको छ ।
मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र त्यसलाई सदर गर्ने उच्च अदालतको आदेशविरुद्ध आलमले दिएको निवेदनमाथि शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासमा पेसी परेको हो।
जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगंजले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।
शुक्रबार हुने सुनुवाइले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र त्यसलाई सदर गर्ने उच्च अदालतको आदेशको न्यायिक परीक्षण गर्ने छ। थुनामा पठाउने रौतहट जिल्ला अदालत र उच्च अदालतको आदेश सर्वोच्चले पनि सदर गरेमा आलम थुनामै रहेनेछन् ।