काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिजुली बेचेर देशलाई दश वर्षमा धनी बनाउने कांग्रेसको सपना रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिका केन्द्रित चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले देशमा भएको बिजुलीलाई भारतमा बेचेर देश धनी बनाउने कांग्रेसको सपना रहेको बताएका हुन्।
उनले एमसीसी परियोजना सफल भए आगामी दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खाना पकाउन सक्ने अवस्था आउने पनि उल्लेख गरे ।
‘युवालाई विदेशमा बेचेर होइन । देशमा भएको बिजुलीलाई भारतमा बेचेर हामी यो देशलाई धनी बनाउन चाहान्छौँ भन्ने सपनातर्फ नेपाली कांग्रेसले यो देशलाई लाँदैछ । त्यो लानु भनेको प्याट्ट गर्दाखेरी ग्याँस आउँछ भनेर भन्ने कमरेड केपी ओलीलाई सोध्यो भने ग्यासको भण्डार कहाँ–कहाँ छ उहाँ भन्न सक्नुहुन्न’, महामन्त्री शर्माले भने ‘तर हामी भन्छौँ एमसीसी परियोजना सफल भएर अगाडि बढ्दै गर्दाको दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खाना पाक्न सक्ने अवस्था बनाउँछौँ ।’
काठमाडौँको सडकमा डिजेल र पेट्रोलको गाडीहरुलाई विस्थापित गरेर विद्युतीय गाडी विस्तार गरिने पनि उनको भनाई छ ।
महामन्त्री शर्माले नेपाली कांग्रेसलाई मतदान गर्ने मतदाताहरुलाई सुरक्षा दिँदै मतदानस्थलसम्म लैजान युवाहरुलाई निर्देशन दिए। मतदान गरेर मात्रै कांग्रेसले नजित्ने भन्दै उनले सही रुपमा मतदान गर्न मतदातालाई सिकाउन र मतदान भइसकेपछि मत गणनामा चनाखो भएर बस्न पनि आग्रह गरे ।