काठमाडौं । सत्ता गठबन्धनले भरतपुर महानगरमा माओवादी केन्द्रबाट रेणु दाहाललाई मेयरमा अघि सारेपछि स्वतन्त्र उम्मेदवारको रुपमा कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेदवारी दिएपछि यतिखेर चर्चाको शिखरमा छ ।
कांग्रेस नेता पौडेलले उम्मेदवारी दिए लगतै उनलाई मनाउनका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भरतपुर पुगेर भेटेका थिए । उम्मेदवारी फिर्ताको विषयमा कुराकानी गरे पनि नेता पौडेलले नमानेपछि प्रधानमन्त्री शेरबहादुर देउवा गुहार्न पर्यो । प्रचण्डसँगको भेट सकारात्मक हुन नसकेपछि प्रधानमन्त्री देउवाले नेता पौडेललाई उम्मेदवार फिर्ता लिएर गठबन्धनको उम्मेदवार रेणु दाहाललाई सहयोग गर्न आग्रह गरे । तर, पौडेल आफ्नो अडान नछाडेपछि गठबन्धनको बैठकले देशभर बागी दिएकाहरुले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने सात बुँदे निर्देशन जारी गरिसकेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर गृहमन्त्री बालकृष्ण खाँण भरतपुर पुगेर नेता पौडेललाई भेटे पनि ठोस निष्कर्श निस्कन सकेन । बोरु कांग्रेस नेता पौडेलले आफ्नो उम्मेदवारी फिर्ता नलिने बताए । गृहमन्त्री खाँणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले तारान्तर फोन गर्दा पनि उनले आफ्नो अडान छाडेका छैनन् ।
पौडेललाई भेट्न गृहमन्त्री खाँण भरतपुर-७ स्थित पौडेल निवास पुगेका थिए । उनीसँगै मन्त्री उमेश श्रेष्ठ पनि सँगै रहेका थिए । पौडेलले उनीहरुलाई फूल र खादासहित आफ्नो निवासमा स्वागत गरे। गृहमन्त्रीसँगको भेटमा आफूले उम्मेदवारी फिर्ता लिन नसक्ने कुरा स्पष्ट रूपमा बताएको पौडेलले बताए । बागी उम्मेदवार पौडेलले भने उम्मेदवारी फिर्ता नलिने अडान लिएको उनीनिकट स्रोतले जानकारी दिएको छ।
आफूले दिएको उमेदवारी चितवनवासीको लोकतन्त्र र आफ्नो पार्टीलाई बचाउनका लागि सञ्चालन गरेको अभियानसँग मात्रै सम्बन्धित रहेको भन्दै उनले केन्द्रीय गठबन्धनसँग सम्बन्धित नरहेको बताए ।
‘मेरो कारणले केन्द्रीय गठबन्धनलाई गाह्रो पर्नुपर्ने केही छैन’, उनले भने, ‘परिस्थिती धेरै अगाडि बढिसकेको छ । मैले एउटा सामान्य नागरिकका हिसाबले उम्मेदवारी दिए । तपाईहरूले पनि सामान्य कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएछ भनेर बुझ्नुस् भने भनेँ ।’
पार्टीको अनुशासनविपरीत काम गरेको जस्तो लागे कारबाही गर्न पनि भनेको उनले बताए । विभिन्न जिम्मेवारी दिन गृहमन्त्रीले प्रस्ताव गरेको संकेत गर्दै उनले के प्रस्ताव गरे भन्ने कुरा भने खुलाउन चाहेनन् । आफूलाई कुनै प्रस्तावले नछुने उनले बताए ।
भरतपुरमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल भएको छ। यो तालमेलका कारण पाँच दलीय गठबन्धनलाई चुनौती बढेको छ । एकातिर राप्रपा-एमाले तालमेल अर्कातिर कांग्रेसबाटै बागी उठेपछि सत्ता गठबन्धनलाई तनाव बढेको छ ।