काठमाडौं । स्थानीय तह निर्वाचनका लागि सबै भन्दा धेरै पदमा उम्मेदवारी दिने राजनीतिक दल नेकपा एमालेले दिएको छ ।
नगरपालिकाको मेयर र उपमेयर, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यमा गरी एमालेका करिब ३३ हजार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली काँग्रेसका ३१ हजार, नेकपा माओवादी केन्द्रका २२ हजार, राप्रपा र स्वतन्त्र उम्मेदवार १२–१२ हजार र नेकपा एकीकृत समाजवादीका ११ हजार जनाले उम्मेदवारी दिएका निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगको विवरण अनुसार, नेकपा एमालेले ७५३ स्थानीय तहमध्ये ७३६ वटाको प्रमुख पदमा उम्मेदवारी दिएको छ भने १७ वटाको प्रमुख पदमा उम्मेदवारी दिएको छैन । नेपाली काँग्रेसले ७५३ मध्ये ६४६ स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएको छ । उसले १०७ स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएको छैन ।
यो निर्वाचनमा कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको छ ।