• बैशाख २३ २०८३, बुधबार

वली-बास्तोला पक्षको बैठक बस्दै : विप्लव-प्रकाण्डलाई कारवाही हुनसक्ने

बैशाख १४ २०७९, बुधबार

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षले केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

पार्टीले कारवाही गरेपछि ओली र बास्तोला पक्षले केन्द्रीय समितिमा बहुमत जुटाउन बिहीबार आफू पक्षीय केन्द्रीय समिति बैठक बोलाएका हुन् । केन्द्रीय समिति बैठकबाट आधिकारिक निणर्य गरेर मात्रै स्टेप चाल्ने ओलीले बताए ।

‘अब कुरा सिधा छ । हामी केन्द्रीय समितिका साथीहरुसँग भोलि नै बस्छौ । छलफल गरेर निणर्य गर्छौ ।’ एक सञ्चारमाध्यमसित कुरा गर्दै ओलीले भने, ‘हामी नयाँ पार्टी बनाउने भन्दा पनि पार्टीमा बहुमत छौं , विचारधारात्मक सर्वोच्चता कायमै छ । त्यसअनुसार उहाँहरुको प्रस्ताव अस्वीकृत भएको छ । त्यो म्यान्डेट लिएर जान्छौं । साथीहरुसँग छलफल गरेर छिट्टै निणर्य लिन्छौं ।’

केन्द्रीय समितिमा बहुमत पुगेमा विप्लव सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई कारवाही गरेर जाने स्थिति समेत हुन सक्ने ओलीले बताए । केन्द्रीय समितिबाट तत्काल जुन विधि अपनाउँदा हुन्छ त्यही विधि अपनाएर जाने बताए । पार्टीभित्र भएका गलत प्रवृत्ति विरुद्ध भण्डाफोर गरेर जाने ओलीले बताए । स्थानीय निर्वाचनलाई लिएर नेकपा विभाजन भएको हो ।

चैतको पहिलो साता बसेको केन्द्रीय समिति बैठकमा विप्लवले चुनाव उपयोग गरेर जाने प्रस्ताव पेश गरेका थिए । तर, बैठकमा ओली र बास्तोला पक्षले बैठकमा चुनावमा जान नहुने मत राखेका थिए । नेता कार्यकर्ता जेलमा हुने झुठा मुद्दा बोकेर कार्यकर्ता चुनावमा भाग लिन नसकिने भन्दै ओली र बास्तोला पक्ष विप्लवको प्रस्तावको विपक्षमा उभिए ।

बैठकमा छलफल गर्दै जाँदा विप्लवको प्रस्ताव अस्वीकृत भएपछि ओली-बास्तोला पक्ष केन्द्रीय समितिमा बहुमतमा पुगेका थिए । अन्तमा पार्टीको सचिवालय, केन्द्रीय समिति, प्रदेश र जिल्ला समिति नेताहरु चुनावमा भाग लिन नपाउने निणर्य भयो । यदि पार्टीका नेताहरुले चुनावमा भाग लिएमा पार्टीबाट राजीनामा दिएर जाने निणर्य भयो । तर, पार्टी निणर्य विपरित विप्लव र प्रकाण्ड पक्षले केन्द्रीय सदस्यहरुलाई निर्वाचनमा उम्मेदवारी दिन लगाए ।

त्यति मात्रै होइन चुनावमा नेकपा एमालेसँगै चुनावी तालमेल गरेर जान निर्देशन दिए । तत्काल एमालेसँग तालमेल गरेर गएमा संघ र प्रदेशमा समेत सजिलो हुने भन्दै विप्लव प्रकाण्डले एमाले नेतासँग निकटता बढाउँदै लगे । विप्लव र प्रकाण्डको रणनीतिक चाल पाएका ओली र बास्तोलाले सो चाल फेल गराउन मिडियामार्फत् प्रतिवाद गरेका थिए ।

अन्तमा चुनावकै विषयलाई लिएर ओली र बास्तोलालाई विप्लवले पार्टीबाट निकालेका छन् । पार्टीबाटै निष्काशनमा परेपछि अब ओली र बास्तोलाले बैठकबाट मात्रै निणर्यमा पुग्ने भएका हुन् ।