काठमाडौं । नेपाल पत्रकार महासंघले आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पालना गरी तटस्थ भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
निर्वाचन आचारसंहिता, २०७८ को प्रतिकूल हुने काम नगर्नसमेत महासंघले आग्रह गरेको हो । ‘महासङ्घले सधैँ साझा र तटस्थ भूमिका निर्वाह गरिरहेको सन्दर्भमा यसको गरिमा, साख र साझा चरित्र बचाउन हरेक सदस्यको भूमिका महत्वपूर्ण रहिआएको छ’, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने विज्ञप्तिमा उल्लेख छ।
निर्वाचनका समयमा महासंघका सदस्यको भूमिकाको अनुगमन गरी यथार्थ विवरण सङ्कलन गर्न महासंघको आचारसंहिता तथा अनुगमन विभागले अनुगमन गरिहेको छ ।
महासंघले सदस्यता प्राप्त गरेका कोही पनि निर्वाचनमा उम्मेदवार बन्न चाहेमा सदस्यता त्याग्न सबैलाई आह्वान गरेको छ ।