• बैशाख २४ २०८३, बिहीबार

प्रधानमन्त्री देउवा र डब्लुएचओका महानिर्देशक डा.टेड्रोसबीच भेटवार्ता

बैशाख ९ २०७९, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयसबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा गेहब्रेयसले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै त्यतिबेला डब्लुएचओले नेपाललाई खोप वितरण गरी महत्त्वपूर्ण सहयोग गरेकामा उनीप्रति आभार पनि व्यक्त गरे ।

महानिर्देशक डा.टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा खुसी व्यक्त गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिइन् ।

महानिर्देशक डा.टेड्रोसले नेपालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान निकै उदाहरणीय र प्रशंसनीय रहेको पनि बताएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा महानिर्देशक डा.टेड्रोसले तीन दिने भ्रमणमा बिहीबार नेपाल आएका थिए । नेपाल भ्रमणमा
रहेका महानिर्देशक डा.टेड्रोस यही वैशाख १० गते नेपालबाट फर्किने कार्यक्रम छ ।