• मंसिर १४ २०८१, शुक्रबार

ग्लोबल बैंकको नाफा झण्डै ४ अर्ब, कुन बैंकको नाफा कति ?

बैशाख ९ २०७९, शुक्रबार

काठमाडौं । वाणिज्य बै‌कहरुले ९ महिनाको अबधिमा १ अर्बदेखि ४ अर्बसम्म नाफा कमाएका छन् । वाणिज्य बै‌कहरुले दिएको विवरण अनुसार सबैभन्दा बढी नाफा आर्जन गर्ने ग्लोबल आईएमई बैंक देखिएको छ । सो बैंकले ९ महिनामै ३ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । केही बैंकले भने विगतको तुलनामा कम नाफा आर्जन गरेका छन् । नाफा आर्जन कम भएसँगै प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ ।

 ग्लोबल आईएमईको ३ अर्ब ७२ करोड नाफा
ग्लोबल आइएमई बैंकको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ३ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अबधिको तुलनामा ४.१३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ८८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ४५ रुपैयाँ रहेको छ ।

कुल २३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ रहेको छ । हालसम्म बैंकले २ खर्ब ६९ अर्ब ८ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६० अर्ब २० करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंकले १८३ प्रतिशतले नाफा बढायो, नाफा १ अर्ब १ करोड
सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत अबको सोही अबधिको तुलनमा १८३ प्रतिशतभन्दा बढी हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३५ करोड ८१ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८८ पैसा बढ्न पुगेको छ ।

एनसीसीले कमायो १ अर्ब ४८ करोड
नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले १ अर्ब ४८ करोड रुपैयाँ कमाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बै‍कले ३५ प्रतिशतले नाफा वृद्धि गरेको छ । गत आवको सोही अबधिमा १ अर्ब १० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफामा बृद्धि गरेको एनसीसीको प्रतिसेयर आम्दानी पनि बढेको छ । सो अवधिमा बैंकको इपीएस ३ रुपैयाँ ५८ पैसा बढेर १७ रुपैयाँ ८१ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ १ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.६९ गुणा रहेको छ ।

हिमालयन बैंकको नाफा १ अर्ब ३९ करोड
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा हिमालयन बैंकले १ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.११ प्रतिशत बढी हो । बैंकले गत आबको सोही अवधिसम्ममा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको प्रति सेयर आम्दानी १ रुपैयाँ ७५ पैसा घटेर १४ रुपैयाँ ३१ पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ९६ पैसा रहेको छ ।

यि बैंकले जसको गत वर्षको तुलनामा नाफा घट्यो

कुमारीको नाफा १ अर्ब ८० करोड
कुमारी बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ८० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर यो नाफा गत आर्थिक वर्षको तुलनामा थोरै कम हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै बैंकले आफ्नो निश्क्रिय कर्जा १.०९ प्रतिशतबाट घटाएर ०.९६ प्रतिशतमा झरेको छ । नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आउँदै १६ रुपैयाँ ३४ पैसामा झरेको छ । सो अबधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै बैंकको निक्षेप १३.४२ प्रतिशत बढेको छ भने कर्जा १३.०८ प्रतिशत बढेको छ ।

लक्ष्मी बैंकको नाफा ८५ करोड ८९ लाख
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लक्ष्मी बैंकले ८५ करोड ८९ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । गत बर्षको सोही अबधिमा १ अर्ब २८ करोड रुपैयाँ खुद मुनाफा गरेको सो बैंकको चालु अबको सोही अबधिमा भने ३३.३१ प्रतिशतले गिरावट आएको छ ।

नाफामा उच्च गिरावट आएको सो बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १५ पैसा घटेर ९ रुपैयाँ ९१ पैसामा सीमित भएको छ । सो अबधिमा बैंकको प्रसिशेयर नेटवर्थ १४१ रुपैयाँ ८९ पैसा रहेको छ ।

प्रभुले कमायो पौने २ अर्ब, गत वर्षभन्दा १६.९१ प्रतिशत कम
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा प्रभु बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । तर यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बंगलादेश बैंकको नाफा १ अर्ब ११ करोड
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपाल बंगलादेश बैंकले १ अर्ब ११ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नविल बैंकसँग मर्जर प्रक्रियामा रहेको सो बैंकको नाफामा ३२.१८ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्षको सोही अबधिमा बैंकले १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।