• बैशाख २७ २०८३, आईतवार

कांग्रेस पार्टी कार्यालयमा लगाइएको ताला खुल्यो, के भयो सहमति ?

बैशाख ८ २०७९, बिहीबार

कास्की । काँग्रेस कार्यकर्ताले कास्कीको पार्टी कार्यालयमा लगाएको ताला खुलेको छ । सत्ता गठबन्धनमा भागबन्डाका क्रममा पोखरा महानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय भएका कारण कांग्रेसका असन्तुष्ट पक्षले गत बुधबार पार्टी कार्यालयमा ताला लगाएका थिए ।

पार्टी निर्णय नसच्याएमा ताला नखोल्ने अडान लिए पनि अन्ततः असन्तुष्ट पक्ष पार्टी निर्णय मानेर जान सहमत भएको छ । ‘हामीले महानगरपालिका मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि ताला लगाएका थियौं तर महानगरपालिकाका सबै साथीहरुसँग छलफल गर्दा पार्टीको निर्णय उल्लंघन गरेर जाने अवस्था छैन भन्ने भयो । त्यसपछि पार्टी कार्यालयमा लगाइएको ताला आज बिहान खोल्यौँ,’ काँग्रेसका पोखरा महानगर सचिव गणेशबहादुर थापाले बताए ।

उनले महानगरको उपमेयर र वडामा सशक्त दाबेदारका रुपमा प्रस्तुत हुने र अरु स्थानीय तहमा धेरै भागबण्डा लिने तयारीका साथ अघि बढेको बताए । पार्टी नै सर्वेसर्वा भएकाले गठबन्धनको पक्षमा एक ढिक्का हुने निर्णय भएको उनको भनाइ छ ।

पाँच दलीय गठबन्धनको केन्द्रीयस्तरको निर्णय अनुसार पोखरा महानगरको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा काँग्रेसबाट उम्मेदवार हुने छन् । यसअघि भने पोखराको मेयर र उपमेयर दुवै एमालेबाट निर्वाचित भएका थिए ।