काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी १२ दिनपछि काममा फर्किएका छन् । सर्वोच्च अदालतबाट मंगलबार पुनर्बहाली भएका अधिकारी बुधबार बिहान साढे ११ बजे राष्ट्र बैंक कार्यालय गएर पुनः काम सुरु गरेका हुन् ।
राष्ट्र बैंकमा पुनर्बहाली गर्दै गभर्नर अधिकारीले सर्वोच्चको फैसला व्यक्तिको लागि भन्दा पनि समग्र प्रणालीको लागि भएको बताए ।
अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका थिए।
गत चैत २४ गते अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा गभर्नर अधिकारीमाथि छानबिन गर्न भन्दै मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गरेको थियो । उक्त समिति गठनसँगै स्वत: निलम्बनमा परेका अधिकारी सरकारको निर्णयविरुद्ध वैशाख ४ गते सर्वोच्च गएका थिए ।
सर्वोच्चले उनीमाथि तत्काल कुनै कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले गएको चैत २४ गतेको मन्त्रिपरिषद्को निर्णय र २५ गतेको सरकारको पत्र तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै दुवै पक्षलाई यही वैशाख १३ गते सर्वोच्च बोलाएको छ ।