काठमाडौं । नाबालिग बलात्कार अभियोगमा थुनामा रहेका पूर्णविक्रम शाह (पल शाह) प्रकरणमा एक पछि अर्को नयाँ-नयाँ ट्विस्ट देखिन थालेको छ ।
जिल्ला अदालत तनहुँ र नवलपुर दुबैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध पीडित भनिएको पक्षले बयान फेरेको छ । शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा आफ्नो बयान फेरेकी थिइन् भने आज उनै गायिकाकी बुवाले समेत आफ्नो बयान फेरेका छन् ।
नाबालिगले बयान फेरेपछि घटनाले नयाँ रुप लिने देखिएको छ । जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएको स्रोतको भनाइ छ । बकपत्र गराउँदा पीडित भनिएकी नाबालिग गायिकाले मात्र नभएर उनका बाबुले समेत बयान फेरेका स्रोतको दाबी छ।
१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालतमा मुद्दा दायर भएको थियो । दुबै अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। पीडितले नै बयान पछि फेरेपछि मुद्दा कमजोर बनेको छ।