काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ३० वैशाखमा निर्धारित स्थानीय तह निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
सोमबार साँझ गृह मन्त्रालयमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँगको भेटपछि गृहमन्त्री खाँणले सबै राजनीतिक दललाई लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न निर्धारित स्थानीय तह निर्वाचनमा भाग लिन आग्रह गरे ।
गृहमन्त्री खाँणले अहिलेसम्म निर्वाचनमा सहभागी नभएका नेकपा र जनमत पार्टीलाई निर्वाचनमा सहभागी बनाउन पटक पटक वार्ता गरिरहेका छन् भने दुबै राजनीतिक दल स्थानीय तह निर्वाचनमा सहभागी हुन सकारात्मक पनि देखिएका छन् । विभिन्न बाहानामा थुनामा रहेका पार्टी नेता कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ताको माग नेकपाले राखेको छ ।
नेकपाले राखेका मागलाई सम्बोधन गर्दै गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले कानुन अनुरुप मिल्ने विप्लव नेतृत्वको नेकपाका थुनामा रहेका नेता कार्यकर्ता रिहाइ गर्ने र मुद्दा फिर्ता लिने प्रक्रिया महान्यायाधिवक्ताको कार्यालयमार्फत सुरु गरिएको जानकारी दिए ।