• आश्विन ११ २०८१, शुक्रबार

लखन थापाको इतिहास नबङ्ग्याउन मगर संघका अध्यक्ष पुनले ओलीलाई दिए चुनौती

बैशाख ४ २०७९, आईतवार

काठमाडौं । नेपाल मगर संघ बाग्लुङ–काठमाडौं सम्पर्क समितिको आयोजनामा काठमाडौंमा वनभोज, बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा भर्खरै सम्पन्न भएको नेपाल मगर संघको १२औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष लगायतका पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरियो ।

बधाई कार्यक्रममा अध्यक्ष ज्ञानेन्द्र पुनमगर र महासचिव टेक नाम्जालीमगर लगायतका पदाधिकारीहरु उपस्थित थिए । मञ्चका अध्यक्ष बुद्धिमाया पुनमगरको अध्यक्षतामा कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्दै अध्यक्ष ज्ञानेन्द्र पुनमगरले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालका प्रथम सहिदका बारेमा फैलाएको भ्रमलाई खण्डन गरे ।

उनले लखन थापामगर नै नेपालको पहिलो सहिद भएको दावी गर्दै केपी ओलीलाई लखन थापा बाहेक अरु कोही प्रथम सहिद भएको इतिहास छ भने प्रमाण देखाउन चुनौती पनि दिए ।

ओलीले केही दिनअघि पश्चिम नेपालमा भएको एक कार्यक्रममा नेपालका प्रथम सहिद लखन थापा नभई अछामका बाँकावीर भएको बताएका थिए ।

ओलीले त्यसो बोलेपछि उनको देशभरका मगरहरुले विरोध जनाएका थिए । कार्यक्रममा मगर संघका विभिन्न जिल्लाका अध्यक्षहरु, जगत रश्मिमगर, नेपाल मगर संघ केन्द्रीय समन्वय समितिका अध्यक्ष होमराज खपाङ्गीमगर, नेपाल महिला मगर संघका अध्यक्ष धनकुमारी रानामगर लगायतका अतिथिहरु शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा आपसमा शुभकामना आदानप्रदान पनि गरियो । कार्यक्रममा संस्थाका सदस्य ज्ञानु रानामगरले सहभागीहरुलाई मन्तव्यद्धारा स्वागत गुर्न भयो ।