स्याङ्जाको वालिङमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका पाँच जनाकाे पहिचान खुलेकाे छ । वालिङ नगरपालिका-१२ सिर्सेकोटबाट वालिङ-१३ को बायाँटारीका लागि छुटेकाे ग १ ज ७३९९ नम्बरकाे जिप वालिङ-१२ को फिरफिरेमा दुर्घटना भएको हो।
दुर्घटनामा वालिङ नगरपालिका-१२ डाँडाखर्कका ६५ वर्षीय वीरबहादुर डाला मगर, ४५ वर्षीय हिराकुमार डाला, २५ वर्षीया शर्मीला सारु, उनका ७ महिनाका छोरा गौरव सारु र वालिङ नगरपालिका-१४ की ६१ वर्षीया कुलकुमारी कनौचे रहेका प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा परी चार जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी निरीक्षक पद्मराज थापाले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते हुनेमा ६० वर्षका अङ्गबहादुर डाला, ५७ वर्षका दलबहादुर डाला, ५५ वर्षकी मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, १९ वर्षकी लक्ष्मी डाला र १८ वर्षकी नविना सारु रहेका जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।
घाइते ६ जनालाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले बताएको छ। जिपमा ११ जना यात्रु सवार रहेका थिए।