काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन जारी गरेको छ ।
कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको पार्टी उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गर्दै पार्टी आबद्ध भ्रातृ संघ एवं शुभेच्छुक संस्थालाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देश गर्ने निर्णय गरेको हो ।
बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत काम, कर्तव्य र अधिकारसमेत तोकी विभिन्न उपसमिति गठन गर्ने निर्णयसमेत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले भातृ सङ्घ समन्वय एवं परिचालन, शुभेच्छुक संस्था समन्वय एवं परिचालन, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन, विदेशस्थित जनसम्पर्क समिति समन्वय एवं परिचालन, अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय समन्वय र आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति गठन गर्ने निर्णय गरेको छ । समितिका संयोजकले उपसमितिका संयोजक मनोनयन गर्ने र उपसमितिका संयोजकको परामर्शमा परिचालन समितका संयोजकले उपसमिति गठन गर्ने निर्णय गरिएको छ ।
यसैगरी स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको कार्यादेश २०७८ लाई अनुमोदन गर्ने, स्थानीय तह निर्वाचनका लागि सातै प्रदेश र ७७ वटै जिल्लामा काम, कर्तव्य र अधिकारसमेत तोकी केन्द्रीय प्रतिनिधि खटाउने बैठकले निर्णय गरेको उनले जानकारी दिए ।
बैठकले प्रदेश कार्यसमितिलाई मातहतका जिल्लाअन्तर्गत पालिकामा प्रदेश प्रतिनिधि खटाउन निर्देश गर्ने, स्थानीय तह निर्वाचनको चुनावीसभालाई व्यवस्थित, सभ्य र छरितो बनाउन ‘चुनावीसभा व्यवस्थापन मापदण्ड’लाई अनुमोदन गर्ने निर्णय गरेको छ ।