काठमाडौँ। निर्वाचन आयोगले पालिका चुनावका सम्बन्धमा शङ्का व्यक्त गर्ने अभिव्यक्तिहरू नदिन राजनीतिक दलका नेता एवम् कार्यकर्तालाई आग्रह गरेको छ । बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पालिका चुनावका सम्बन्धमा शङ्का व्यक्त गर्ने अभिव्यक्तिहरू नदिन राजनीतिक दलका नेता एवम् कार्यकर्तालाई आग्रह गरेका हुन्।
प्रवक्ता पौडेलले निर्धारित समयमै पालिका चुनाव गर्न तयारी अन्तिम चरणमा पुगेको अवस्थामा चुनावबारे शङ्का व्यक्त गर्ने अभिव्यक्तिहरूप्रति आयोगको ध्यानाकर्षण भएको बताए । उनले भने , ‘निर्धारित समयमै पालिका चुनाव गर्न तयारी अन्तिम चरणमा पुगेको छ । चुनावबारे संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका नेता एवम् कार्यकर्ताबाट आएको अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको छ । चुनावबारे अलमल सिर्जना गर्ने किसिमका अभिव्यक्ति नदिनु हुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ ।
प्रवक्ता पाैडेलले पालिका चुनावका लागि आवश्यक पर्ने एक करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाका लागि ७० लाख ३३ हजार थान मतपत्र छापिएकाे जानकारी दिए। अहिले दैनिक सरदर आठ लाख थान मतपत्र छपाइ भइरहेको उनकाे भनाइ छ ।
पालिका चुनाव २०७९ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिइ पर्यवेक्षण अनुमतिका लागि गएकाे चैत १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकोमा ६५ वटा संस्थाबाट विद्युतीय माध्यमबाट निवेदन प्राप्त भएको छ । ती संस्थाबाट प्रस्तावित पर्यवेक्षकको सङ्ख्या २० हजार चार सय ६७ रहेकाेमा पुरुष ११ हजार ६ सय ९४, महिला आठ हजार चार सय ८२ र अन्य दुई सय ९१ जना रहेका छन् ।
निर्वाचन आयोगले पालिका चुनावसम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन आजैदेखि हरेक दिन स्थानीय तह निर्वाचन ई बुलेटिन प्रकाशन सुरु गर्दैछ । बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुनेछ । यसबाट आयोगका आधिकारिक सूचना सम्बन्धित सबैमा पुग्ने विश्वास लिइएको छ ।
पालिका चुनाव आउँदाे वैशाख ३० गते एकै चरणमा हुँदैछ ।