काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा ८० प्रतिशत इमान्दार कम्युनिष्ट रहेको बताएका छन् ।
बिहीबार खुमलटारमा आयोजित माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेमा सबै व्यक्ति खराब नरहेको भन्दै यस्तो बताएका हुन् । उनले एमालेभित्र ३ वर्ष बसेर हेर्दा ८० प्रतिशत इमान्दार कम्युनिष्ट रहेको भन्दै एमालेमा सबै खराब छन् भनेर सोच्न नहुने बताए ।
अध्यक्ष प्रचण्डले एमाले नेतृत्वले धेरै भ्रम दिएर उनीहरूलाई राखेकाले एमालेभित्र बन्दी बनेर बसेकालाई मुक्त गर्नुपर्ने समेत बताए ।
माओवादी नफुटेको भए माओवादी र एमाले एकता हुँदा माओवादी ६०, एमाले ४० प्रतिशतको भागबन्डा हुने स्मरण गरेका छन् । उनले माओवादीलाई घेराबन्दी गर्ने विपक्षीको रणनीति भएकाले सचेत हुनुपर्नेमा प्रचण्डको जोड छ ।
प्रचण्डले माओवादी विभाजित हुँदा प्राप्त उपलब्धि गुम्ने, माओवादीका मुद्दा सिद्धयाउने र कमजोर पार्ने, इतिहास धूमिल हुने भएकाले एक हुनुपर्ने बताएका छन् ।
साथै प्रचण्डले माओवादीहरू ध्रुविकृत भएर मात्र प्रतिगमनलाई परास्त गर्न सक्ने भएकाले एकजुट हुन आग्रह गरे। उनले पार्टीमा आउनेलाई आग्रह, पूर्वाग्रह नराख्ने समेत बताए ।