३० चैत । प्रत्यक वर्ष वसन्त ऋतुमा पर्वतारोहणका लागि अनमुति लिनेको सङ्ख्या ६ सय सात पुगेको छ । अहिलेसम्म नेपालका १९ वटा हिमाल आरोहणका लागि ७४ आरोहण दलका ६ सय सात जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।
गएको वर्षको वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि ६ सय ३५ जनाले अनमति लिएका थिए । यसपालि अनुमति लिएकामध्ये चार सय ७४ जना पुरुष र एक सय ३३ जना महिला रहेका छन् ।
वसन्त ऋतुमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि दुई सय २५ जनाले अनुमति लिएका छन् । यस्तै कञ्चनजङ्घाका लागि ६७ र आमाडब्लम हिमाल आरोहणका लागि ६५ जनाले अनुमति लिएका छन् । अनुमति लिनेहरूमा ६४ देशका आरोही रहेका छन् । सबैभन्दा धेरै अमेरिकाका एकसय चार जना छन् ।
युद्धग्रस्त देश युक्रेनबाट यस वर्ष कुनै पनि आरोही आएनन् भने युक्रेनमा आक्रमण गरिरहेको देश रुसबाट १७ जना आरोही आएका छन् ।
आरोहीबाट सरकारले रोयल्टी वापत ३३ करोड रुपैयाँ सङ्कलन गरेको छ । यसैबीच गण्डकी प्रदेशमा पर्ने अन्नपूणर् आधार शिविर र मर्दी हिमालको पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या बढेसँगै पर्यटन व्यवसायी खुसी भएका छन् । कोरोनाका कारण सुस्ताएको पदयात्रा पर्यटनले गति लिन थालेसँगै यस क्षेत्रका व्यवसायी उत्साहित भएका हुन् ।
पछिल्ला दिनमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि पदयात्राका लागि आउन थालेसँगै पदयात्रा मार्गका व्यवसायीमा उत्साह थपिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले बताए ।
मर्दी हिमालमा पदयात्राका लागि मात्रै पनि दैनिक सय जनाभन्दा धेरै पर्यटक पुग्ने गरेका छन् ।
हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमाल अन्नपूणर्को काखमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रामध्ये पर्छ ।