• बैशाख २४ २०८३, बिहीबार

नेता र ‘काला व्यापारी’ले घरमा नोट थन्क्याउँदा देशमा आर्थिक संकट आयो : लिङ्देन

चैत्र ३० २०७८, बुधबार

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र ‘काला व्यापारी’हरूले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन्।

राप्रपा पर्साले मंगलवार वीरगञ्जमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले बैंकमा नोट नहुनुको कारण नेताहरू र काला व्यापारीहरूले घरमा थन्क्याएको बताएका हुन् । नेताहरूले कमिशन र भ्रष्टाचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएका उनले जिकिर गरे।

‘कमिशनको नाममा‚ भ्रष्टाचारको नाममा विभिन्न हिसाबले कमाएको पैसा बैंकमा लगेर राख्दा त आम्दानीको स्रोत देखाउनु पर्‍यो‚ ट्याक्स तिरेको प्रमाण हुनुपर्‍यो‚’ उनले भने‚ ‘नभएपछि बोरामा राख्नुपर्‍यो। बाकसमा राख्नुपर्‍यो। आज नेताहरूको र काला व्यापारीहरूको घरमा नोट थन्किएको कारणले आज देशमा आर्थिक संकट आएको छ।’

अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर–घरमा थन्किएका नोटलाई कागजमा परिणत गरिदिनु आग्रह गरे। उनले आफ्नै जीनकालमा देश बनेको हेर्नका लागि मतदाताहरूले पार्टी र नेता फेर्ने बेला आएको बताए। उनले कांग्रेस, एमाले, माओवादी र मधेशवादी दललाई मत दिएर देश बन्नु भनेको दुधका लागि साँढेको टाङमुनि बाल्टि थाप्नुजस्तै भएको टिप्पणी गरे।