• बैशाख २६ २०८३, शनिबार

सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

चैत्र ३० २०७८, बुधबार

काठमाडौँ। सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ। वरिष्ठतम् एआइजी केसीलाई बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले नियुक्त गरेको हो।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चैत २८ गते अवकाशमा गएपछि आइजी पद खाली थियो।

गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले केसीलाई सशस्त्र महानिरीक्षक नियुक्त गरेको स्रोतले बतायो।

केसीले अब १९ दिन सशस्त्र प्रहरीको नेतृत्व गर्ने छन्। तीस वर्षे सेवा अवधिका कारण केसी १९ दिनपछि अवकाशमा जानेछन्।

उनीसँगै एआइजी रामशरण पौडेल पनि केसीसँगै अवकाशमा जान्छन्। त्यसपछि सरकारले पुन: नयाँ आइजी नियुक्त गर्नुपर्ने हुन्छ।

१९ दिनपछि सशस्त्र प्रहरी महानिरीक्षक जो बन्छन् उनी चार वर्ष पदमा रहन्छन्। अहिले डिआइजी रहेका राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच भावी महानिरीक्षकका लागि प्रतिस्पर्धा छ।

सरकारले उनीहरूमध्ये एक जनालाई चाँडै एआइजी नियुक्त गर्नुपर्ने अवस्था छ। सशस्त्र प्रहरी नियमावलीमा एआइजीबाट मात्रै आइजी नियुक्त गर्न सकिने प्रावधान छ।