• बैशाख २६ २०८३, शनिबार

मानव खप्पर र हड्डी लिएर भारततिर लैजाँदै गरेको अवस्थामा एक भारतीय नागरिक पक्राउ

चैत्र २९ २०७८, मंगलवार

मोरङ । विराटनगरको रानीबाट मानव खप्पर तथा हड्डीसहित सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो रानीबाट मानव शरीरका हड्डीसहित भारत बिहारको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई सशस्त्र प्रहरी बल रानीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सिन्हा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत रहेको छ । उनी पढाइ सकेर भारत फर्कने क्रममा कार्टुनमा लुकाएको अवस्थामा मानव खप्पर फेला परेको सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछानेले बताए ।

उनका अनुसार सिन्हाको साथबाट एउटा मानिसको सिङ्गो शरीरको हड्डी बरामद भएको हो । भारततिर लैजाँदै गरेको अवस्थामा मानव खप्पर, बंगारा, घाँटी र हिपको हड्डी १/१ वटा, काँधको हड्डी २, खुट्टाको नली हड्डी ३, हातको हड्डी ६, करङ ७, ढाड, औंला र कुर्कुच्चाको हड्डी ८/८ वटा बरामद भएको छ ।

पक्राउ परेका युवकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढ्ने पुराना विद्यार्थीबाट अध्ययनका लागि मानव कंकाल पाएको र पढाइ सकिएपछि घर फर्कने क्रममा लगेको बताएका छन् भने यश विषयमा उनले प्रतिष्ठानमा जानकारी नगराई लगेको बताएका छन् ।