सर्लाही। सर्लाहीमा पाँच दिनदेखि हराइरहेको एक बालक बिहीबार बिहान छिमेकीको सौचालयको सेफ्टी ट्याङकीभित्र मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलङ्गवा नगरपालिका –१२ गम्हरिया निवासी जीतेन्द्र ठाकुरको छोरा १० वर्षीय मिठू भन्ने आकाश ठाकुरको शव छिमेकीको सेफ्टी ट्याङकीभित्र भेटिएको हो।
उनका छिमेकी जगदीश ठाकुरको शौचालयको सेफ्टी ट्याङकीमा बोराभित्र हालिएको अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ। गत २० गते राति ८ बजे गाउँमै न्वारानको भोज खान जाँदा आकाश हराएका थिए ।त्यसपछि परिवारले सोही दिन राति जिल्ला प्रहरी कार्यालय सर्लाहीमा खबर गरेको थियो ।
लगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले छिमेकी जगदीश ठाकुरसहितलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। उनकै बयानका आधारमा बालकको शव सेफ्टी ट्याङकीभित्र फेला परेको हो।
बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा लगिएको छ । प्रहरीले बालकको हत्यामा संलग्न भएको आरोपमा जगदीश ठाकुरसहित उनका परिवारका सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । हत्याको कारण भने खुल्न सकेको छैन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।