प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा पोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता शुरू भएको छ ।
पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
सांसद पहारीले साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रुपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक शहरको रुपमा चिनाउन थप सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा सोलो ओभर अलतर्फ ३२ पुरुष र आठ महिला तथा टेन्डमतर्फ ३७ खेलाडीबीच प्रतिस्पर्धा भएको र आज बाँकी खेलबीच प्रतिस्पर्धा हुने संस्थाका महासचिव बलराम आचार्यले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा ७७ प्रतियोगी छन् । त्यसमा आठ महिला पाइलट रहेका छन् । प्रतियोगिताको अन्तिम दिन यही चैत २५ गते विभिन्न सांस्कृतिक वेषभूषासहित पाइलटले कौशल प्रदर्शन गर्नेछन् भने सोही दिन प्रतियोगितामा निकै आकर्षक मानिने एक्रोवेटिक एयर शोसमेत हुने उनको भनाइ छ ।
पोखरामा व्यावसायिकरुपमा सञ्चालन भएका ६० भन्दा बढी कम्पनी रहेको र करिब ३६६ प्याराग्लाइडिङ पाइलट रहेको ना अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए।
उनले कोभिड–१९ का कारण दुई वर्ष प्रतियोगिता स्थगित भएको जनाउँदै यस प्रतियोगिताले पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रतियोगिता नेपाल प्याराग्लाइडिङ तथा प्याराग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोग र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले प्रवद्र्धन गरेको हो । उक्त प्रतियोगितामा ‘एक्युरेसी’ तर्फ मात्रै प्रतिस्पर्धा हुनेछ ।