• बैशाख २६ २०८३, शनिबार

भारतबाहेक दक्षिण एशियाका एक्ला अर्बपति बने विनाेद चाैधरी

चैत्र २३ २०७८, बुधबार

काठमाडौँ। नेपालका उद्योगपति विनोद चौधरी भारतबाहेक दक्षिण एशियाकै एक्लो अर्बपति बनेका छन्।

विश्वभरिका धनीहरूको सूची प्रकाशन गर्ने फोर्ब्स पत्रिकाले यो वर्ष निकालेको सूचिमा चौधरी भारतबाहेक दक्षिण एशियामा एक्लो अर्बपतिमा परेका हुन्।

मंगलबार राति सार्वजनिक सूचीअनुसार दक्षिण एसियामा भारतबाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन्। दक्षिण एसियाका देशहरूमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन्। दक्षिण एसियाका अरू मुलुकहरू श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्बपतिको सूचीमा परेनन्।

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा पनि वृद्धि भएको छ। फोर्ब्सका अनुसार उनको सम्पयत्त गत वर्ष १.४ अर्ब डलर रहेकामा यो वर्ष १० करोड डलरले वृद्धि भई १.५ अर्ब डलर पुगेको छ । व्यवसायी चौधरी फोर्ब्सको सूचीमा १९२९औँ नम्बरमा छन्। चौधरी सन् २०१३ देखि अर्बपतिहरूको सूचीमा रहँदै आएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य समेत रहेका व्यवसायी चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय छन्।

उक्त सूचीअनुसार दक्षिण एसियाको अर्को मुलुक छिमेकी मुलुक भारत विश्वका धेरै अर्बपति रहेका मुलुकहरूमध्ये तेस्रो भएको छ। भारतमा १६६ अर्बपति छन् भने अर्को छिमेकी मुलुक चीनमा ५३९ अर्बपति छन्। सूचीको सबैभन्दा माथि रहेको अमेरिकामा अर्बपतिहरूको संख्या ७३५ छ।

२९०.३ अर्ब डलर सम्पत्ति रहेका एलन मस्क यो वर्ष पनि विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । यस्तै, दोस्रो धनी जेफ बेजोसको सम्पत्ति १८९.८ छ भने बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी व्यक्ति रहेका छन्।