• बैशाख २६ २०८३, शनिबार

विद्रोहीको आक्रमणबाट कंगोमा एक नेपाली सैनिकको मृत्यु

चैत्र २३ २०७८, बुधबार

काठमाडौँ। कंगोस्थित राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु भएको छ ।

विद्रोहीहरुविरुद्ध सञ्चालन गरेको अपरेसन ‘बाली’ को दौरानमा मिलिसियाको आक्रमणमा परी सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ का अनिल गुरुङको मृत्यु भएको नेपाली सेनाले जनाएको छ।

सैनिक मुख्यालयका अनुसार कर्डन एण्ड सर्चका क्रममा विद्रोही मिलिसियाले अज्ञात स्थलबाट आक्रमण गरेका थिए । घाइते सैनिकलाई हेलिकप्टरबाट उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिएकोमा उपचारका क्रममा उनको हिजो मृत्यु भएको हो ।

शान्ति स्थापनामा संलग्न नेपाली शान्ति सैनिक आफ्नो कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएकोमा उनी र उनको परिवारप्रति प्रधानसेनापति प्रभुराम शर्माले दुःख व्यक्त गरेका छन्।

उता, संयुक्त राष्ट्रसंघका महासचिवले पनि विज्ञप्ति जारी गर्दै नेपाली सैनिकको मृत्युको पुष्टि गरेका छन् । राष्ट्रसंघले शान्ति सेनामाथिको आक्रमण युद्ध अपराध हुने भन्दै कंगोको सरकारलाई घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्न भनेको छ ।