• बैशाख २६ २०८३, शनिबार

सहिद लखन थापाप्रति भ्रम छरिएको भन्दै मगर संघद्धारा आपत्ति

चैत्र १९ २०७८, शनिबार

काठमाडौं । नेपालका मगर समुदायले गोरखाका लखन थापालाई राज्यले नै प्रथम सहिद मानेका बेला यसका बारेमा भ्रम छर्न लागिएकोप्रति विरोध जनाएका छन् । नेपाल मगर संघले एक विज्ञप्ति मार्फत् यस्तो विरोध जनाएको हो ।

संगठनका महासचिव ज्ञानेन्द्र पुनमगरद्धारा जारी विज्ञप्तिमा यस्तो विरोध जनाइएको छ । पुनद्धारा जारी विज्ञप्तिमा शुसिल कोइराला नेतृत्वको सरकारका पालामा गरिएको सो निणर्यको नेपालका केही बुद्धिजीवी भनिनेहरुले भ्रम छर्न लागेको भन्दै त्यस्तो भ्रममा नपर्न मगरसमुदायलाई आग्रह गरिएको छ । भ्रम छरिएको घटनाको सामाजिक सञ्जाल तथा डिजिटल मिडियाहरुमा पनि तिब्र विरोध जनाइएको छ ।

लखन थापा जहानीयाँ राणा शासनका विरुद्ध प्रजातन्त्र स्थापनाका लागि शसस्त्र विद्रोहको अगुवाई गर्दा जंगबहादुर राणाले पठाएको नेपाली सेनाको फौजले गोरखामा पक्राउ गरी काठमाडौं ल्याई हत्या गरिएको थियो । लखन मगर समुदायमा जन्मिएका र सोही समुदायबाट सहिद भएका पक्कै हुन् तर उनी सबै नेपालीहरुका सहिद हुन् । यसै घटनालाई आधार मानेर उनलाई नेपालको प्रथम सहिदको रुपमा मानिंदै आएको हो । मगर संघले नेपालको प्रथम सहिदको रुपमा स्थापित भइसकेको घटनालाई बङ्ग्याउन र सहिदको इतिहासप्रति नै भ्रमात्मक प्रचार गर्न खोजिएको भन्दै विरोध जनाएको हो ।

यस्तो सो संगठनका महासचिव पुनद्धारा जारी विज्ञप्ति :

‘आम नेपाली जनताको मुक्ति र न्यायको पक्षमा तत्कालिन जहानियाँ राणा शासनको विरुद्धमा नेपालमा पहिलो पटक संगठित विद्रोह गर्ने क्रममा वि.सं १९३३ फागुन २ गते तत्कालिन शासकहरुबाट हत्या गरिएको नेपालको प्रथम सहिद लखन थापामगरको बारेमा बिना तथ्य र प्रमाण केही नेताहरु र विद्धानहरुले भ्रामात्मक कुरा गरेकोप्रति नेपाल मगर संघ केन्द्रीय समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।
नेपाल मगर संघ लगायतका संघ संस्थाहरुको निरन्तर दवाव, आन्दोलन, संघर्षले गर्दा तत्कालिन संस्कृति मन्त्री कृपाशुर शेर्पाले पेश गरेको प्रस्तावलाई तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाको मन्त्रिपरिषदले वि.सं २०७२ असोज ३ गतेका दिन गरेको निणर्यको विरुद्धमा बोल्ने वा बहस गर्ने अख्तियारी कसैलाई नहुँदानहुँदै पनि राजनैतिक भाषणको लहडमा यसरी बारम्बार भ्रामक कुरा आउनु सबै सहिदमाथिको गम्भिर अपमान हो । लखन थापामगर लगायतका सहिदहरुको बलिदानीपूणर् योगदानका कारण नेपाल अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा परिणत भएकै कारण अहिले अभिव्यक्ति स्वतन्त्रता छ तर स्वतन्त्रताको नाममा गलत र भुट कुरा गर्ने छुट जोकसैलाई छैन ।
सामान्यज्ञान र आमजनतामा प्रथम सहिद लखन थापामगर भनेर स्थापित भईसकेको अवस्थामा यस्ता गलत र तथ्यहीन कुरा नगर्न नगराउन हुन सम्बन्धित सबैलाई चेतवानी सहितको खबरदारी गर्दछौं । लखन थापामगरका साथै मगर समुदायमाथि आँच आउने खालका गलत र भ्रामक कुरा गरेर यस्तै अपमान गर्ने हो भने त्यसको प्रतिवाद नेपाल मगर संघ तथा आम न्यायप्रेमी जनसमुदायले गर्नेछन् त्यसैले गलत र तथ्यहिन कुरा नगरि सच्चिन र सच्याउन यसै प्रेस विज्ञप्ति मार्फत् आग्रह गरिन्छ यन्यथा यसको परिणाम गम्भिर हुनेछ ।’