• बैशाख २६ २०८३, शनिबार

पेट्रोलियम पदार्थको ढुवानी ठप्प, २० गतेबाट बिक्री वितरण बन्द गर्ने व्यावसायीको चेतावनी

चैत्र १८ २०७८, शुक्रबार

काठमाडौँ। राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेको छ।

आजदेखि देशभर पेट्रोलियम पदार्थको ढुवानी (लोड अनलोड) बन्द गरेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ।

निगमले माग सम्बोधन नगर्दा डिलरहरुले खरिद गर्ने सबै इन्धनको ढुवानी रोकिएको र आज भारतीय र नेपालका डिपोहरुबाट इन्धन ढुवानी नभएको महासंघका महासचिव विश्व अर्यालले बताए।उनका अनुसार आयल निगमले चासो नदेखाएपछि इन्धन आपूर्ति नै बन्द गर्नु पर्ने अवस्था आएको हो।

इन्धन ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा घटबढ हुनेगरी स्वचालित प्रणाली कायम गर्नुपर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्ने लगायत माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका उनीहरुले शुक्रबार डिपोबाट इन्धन लोड/अनलोड नै बन्द गरेका हुन्। जसले गर्दा पम्पहरुबाट हुने इन्धनको बिक्री वितरणमा असर परेको छ । माग सम्बोधन नभए आइतबारबाट बिक्री नै ठप्प पार्ने चेतावनी व्यवसायीले दिएका छन् ।

व्यवसायीले एकतर्फी रूपमा इन्धनको बिक्री वितरण अवरोध गरेको भन्दै नेपाल आयल निगमले जायज माग सम्बोधन गरिदिने बताएको छ । यसअघि व्यवसायीका माग सम्बोधन गर्न भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव राधिका अर्यालको संयोजकत्वमा एक उपसमिति गठन भएको थियो । उपसमितिले तयार पारेको रिर्पोट अनुसार जायज माग सम्बोधन गर्ने निगमको भनाइ छ ।

अत्यावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७ अनुसार अत्यावश्यक वस्तु आपूर्तिमा बन्द–हडताल गर्न पाइँदैन । २०७७ मंसिर १५ मा सरकारले जारी गरेको राजपत्रमा २५ वटा क्षेत्रमध्ये एलपी ग्याससहित पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवासमेत उल्लेख गरिएको छ ।

राजपत्रमार्फत अत्यावश्यक सेवामा हडताल गर्न नपाइने सूचना प्रकाशित भए पनि त्यसको ठाडो उल्लंघन गर्दै व्यवसायीले बन्द गरिरहेका हुन् ।