काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ।
दैलेख, कालिकोट र जुम्लाको चुनावी सभामा भाग लिन नेपालगञ्ज पुगेका ओली र राणाबीच नेपालगञ्जको स्नेहा होटेलमा बिहीबार राति भेटवार्ता भएको हो।
भेटमा समसामयिक राजनीतिक परिस्थिति र आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा कुराकानी भएकाे राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
स्थानीय तहको निर्वाचनको नजिकिँदै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेटलाई अर्थपूर्ण ठानिएको छ। राप्रपाका महामन्त्री राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर समेत हुन्।
एमालेविरुद्ध मोर्चाबन्दी गरेका सत्ता गठबन्धनविरुद्ध एमाले पनि विपक्षीसँग गठबन्धन गरेर चुनावमा जाने मुडमा छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेसँग तालमेल गरेर स्थानीय निर्वाचनमा जाने बताइसकेका छन्।