• बैशाख २६ २०८३, शनिबार

पत्रकारको आँखा जाँच गरेर मनाइयो पत्रकार महासंघको स्थापना दिवस

चैत्र १६ २०७८, बुधबार

डडेल्धुरा । पछिल्लो समयमा निकै सिर्जनशील  र लोकप्रीय काम गरेर जिल्लामा क्रियाशील पत्रकारहरुको हक हित प्रवर्द्धनमा सक्रिय नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले बुधबार सिर्जनात्मक रुपमा नेपाल पत्रकार महासंघको स्थापना दिवस मनाएको छ।

नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसका अवसरमा जिल्लामा क्रियासिल पत्रकारहरुको निशुल्क आँखा जाँच र उपचार समेत गरिएको छ। नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको आयोजनामा २४ जना क्रियासिल पत्रकारहरुले आँखा जाँच गरिएको छ भने सात जना पत्रकारहरुलाई निशुल्क चस्मा र अन्य आँखाका बिरामी पत्रकारहरुको आँखाको उपचार गरिएको हो।

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको भवनमा आयोजित आँखा जाँच तथा उपचार कार्यक्रमको ब्यानर पढेर महासंघका सुदूरपश्चिम प्रदेश समिति कोषाध्यक्ष राम धामीले उद्घाटन गरेका थिए। स्वास्थ्य कार्यालय डडेल्धुरा र अन्नपुर्ण अप्टिकल आँखा उपचार केन्द्रको सहयोगमा आँखा जाँच तथा उपचार कार्यक्रम सम्पन्न गरिएको नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिँहले जानकारी दिए।

नेपाल पत्रकार महासंघको आह्वानमा देशभर स्थापना दिवस मनाउने कार्यक्रमलाई थप प्रभावकारी बनाउन आँखा जाँच तथा उपचार शिविर सञ्चालन गरिएको उनले बताए। डडेल्धुरा जिल्लामा क्रियासिल पत्रकारहरुले महासंघ स्थापना दिवसका अवशरमा निकै सिर्जनात्मक कार्य भएको प्रतिकृया दिएका छन।

यसअघि कोरोना महामारीको संक्रमण फैलिएका बेला नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले बिभिन्न दातृ निकाय र दाताहरुसँग सहकार्य गरेर जिल्लामा क्रियाशील पत्रकारहरुका लागि आईसोलेसन वार्ड तयार गरेको थियो ।

पत्रकारहरुको छाता संगठन भएकाले नेपाल पत्रकार महासंघले पत्रकारहरुको हक हित संरक्षणका साथै नागरिक आन्दोलनको अगुवा संस्थाका रुपमा उभ्याउन सफल भएको स्थानीय अगुवाहरु बताउछन्।