• बैशाख २२ २०८३, मंगलवार

आगामी निर्वाचनमा २ वटा गठबन्धन बन्ने स्थिति छ : नेता खनाल

चैत्र १६ २०७८, बुधबार

काठमाडौँ। सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्ने स्थिति बनेको बताएका छन् ।

बुधबार पार्टीले गैरआवासीय नेपाली सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले आउँदाे चुनावमा दुई वटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताएका हुन्। उनले भने, ‘यहाँ गठबन्धन–गठबन्धन बन्ने खालको स्थिति छ । हामी पाँच दलीय गठबन्धनमा छौँ । अब अर्को पनि चार दलकाे गठबन्धन बन्छ कि ! दुई वटा गठबन्धनको बीचमा नेपाली जनमत विभाजित हुने स्थिति छ ।’

सम्मानित नेता खनालले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै आउँदा दिनमा पनि एकताबद्ध भएर जानका लागि सबैले निर्णय गरिसकेको बताए ।

यस्तै नेता खनालले गैरआवासीय नेपाली र नेपाली जनताको बीचमा प्राकृतिक सम्बन्ध रहेको बताए । आउँदा दिनमा पनि त्याे सम्बन्धलाई गहिरो, आत्मीय र घनिष्ठ बनाउनुपर्नेमा उनले जोड दिए ।