काठमाडौँ। विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई नेपाली राजनीतिका ‘छोटे हिट्लर’को संज्ञा दिएका छन्।
मंगलबार पार्टी कार्यालय परिसरमा दुई पक्षबीच तनाव उत्पन्न भएपछि पाण्डेले सामाजिक सञ्जालमार्फत आफ्नै पार्टीका नेताहरूलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाएर मिश्रले पार्टी कब्जा गर्ने प्रयत्न गरेको आरोप लगाए।
पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्,’आज रवीन्द्र मिश्रले आफ्नै पार्टीका नेताहरूलाई पार्टी अफिसमा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्ने प्रयत्न गरे।
यो उनको अर्को अलोकतान्त्रिक कदम हो। साथीहरू, रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिट्लर हुन्।’
पाण्डेले पार्टी अफिस मिश्रको पेवा नभएको पनि उल्लेख गरेका छन्। आम नागरिकको पैसाबाट चल्ने केन्द्रीय कार्यालय सम्पूर्ण सदस्यको त हो नै, आम नागरिकको पनि हो।
यस्तो नि हुन्छ !’उनले भनेका छन्।

मंगलबार विवेकशील साझा पार्टी कार्यालमा दुइ पक्षबीच तनाव सिर्जना भएको थियो । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र विरोधी पक्षले पार्टी केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन गर्न खोजेपछि तनावको स्थिति सिर्जना भएको हो ।
अनधिकृत व्यक्तिहरुले कार्यक्रम गर्न खोजेको भन्दै अर्को पक्षले अनिश्चितकालका लागि कार्यालय बन्द गरेको सूचनामा जारी गरेको थियो।
कार्यालय बन्द गरेपछि असन्तुष्ट पक्षका नेता कार्यकर्ताहरुले विरोध जनाएका थिए । त्यस क्रममा नाराबाजी समेत भएको थियो ।