• बैशाख २२ २०८३, मंगलवार

एमालेले गरेको विकास देखेर विरोधीलाई छटपटी भयो : ओली

चैत्र १५ २०७८, मंगलवार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले अघि सरेका पूर्वाधार विकासका कामहरु धमाधम निर्माण पूरा हुन थालेपछि विरोधीहरु छटपटीन थालेको बताएका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र निर्मित बहुउद्देश्यीय टावरको मंगलबार उद्घाटनपछि सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

‘हामीले बितेका तीन वर्षमा विकासका धेरै पूर्वाधारमा काम गरेका छौँ। अहिले ती धमाधम पूरा भइरहेका छन्’, उनले भने,’पूर्वाधार विकासमा एमालेका कामलाई लिएर जनतामाझ भ्रम छरेर अरुले जस लिन खोज्लान्। यस्ता भ्रमबाट आममतदाता र सचेत नागरिकले जोगिन सक्नुपर्छ।‘एमाले सरकारमा नहुँदो हो त यस्ता विकासका योजना वर्ष अल्झिने थिए, अबको चुनावमा एमाले नेतृत्वमा आउनेछ। यसअघि भएका कामहरु पनि जनतासम्म लैजाऊँ। हाम्रो कामले आत्तिएकाहरू अझै छटपटाउने पक्का छ।’

ओलीले स्वास्थ्य, शिक्षा र पर्यटन विकासमा तिलोत्तमा नगरपालिकाले नमूना काम गरेको पनि बताए। उनले कृषिलाई पनि आधुनिक प्रविधिमा लगेर उत्पादन बढाउन स्थानीय सरकारले ध्यान दिन जरुरी रहेको उल्लेख गरे।

उनले तिलोत्तमाको नेतृत्वलाई बुद्धको प्रचार गर्न पनि आग्रह गरे। ‘बुद्धको प्रचार गर्नुस्, तिलोत्तमाले सडकहरुमा बुद्धमूर्ति झल्काएछ’, उनले भने, ‘ बुद्धको मामली घर देवदह, अस्तु राखिएको रामग्राम र दरबारलाई जोडेर पर्यटक तान्न सकिन्छ। विश्वको ध्यान यहाँ हुनेछ।’