सुनसरीको इटहरीमा बम विष्फोट भएको छ । गएराति करिब १० बजे इटहरी उपमहानगरपालिका- २ को नवजागृति टोलमा सुतली बम विष्फोट भएको हो । विष्फोटमा परेर दुई जना घाइत भएका छन् । घाइते हुनेमा इटहरी उपमहानगरपालिका- २ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ रहेका छन् ।
थापाको डेरामा बम विष्फोट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । विष्फोटमा परी घाइते भएका थापाको आखाँमा चोट छ। उनलाई विराटनर स्थितआँखा अस्पताल र गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । उनीहरुको अवस्था सामान्य छ।
घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद गरेको छ। हिमाल सुरक्षा परिषद हालै मात्र शुरु भएको संगठन हो।
संघीयता खारेज, हिन्दु राष्ट्र घोषणा, नागरिकता छानबिन गर्नुपर्ने, भारत-चीन सीमा विवाद समाधान गरिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्नेलगायतका माग यो परिषद्ले राखेको छ।