काठमाडौँ । कार्यक्रम स्थलमा नेपालको राष्ट्रिय झण्डाका साथमा इस्लामको धार्मिक झण्डा उचालियो अनि झण्डोत्तोलन गरियो । ‘सबैलाई प्रेम गर, कसैलाई घृणा नगर’ भन्ने वाक्य उच्चारण गर्दै कार्यक्रममा सहभागीहरु हलभित्र प्रवेश गरे अनि ‘अल्लाह हुँ अकबर’ भन्दै कार्यक्रम सुरु भयो । त्यहाँ रहेको दृश्य हेर्दा जो कोहिलाई लाग्न सक्थ्यो यहाँ एउटा ठूलो उत्सव भइरहेको छ । हुन पनि त्यो एउटा ठूलै उत्सव थियो । यस्तो कार्यक्रम परिवर्तनशील इस्लामिक संघ, अहमदिया संघ नेपालको बार्षिकोत्सव ‘जलसा सालना’ रहेको थियो ।
संघको सातौँ जलसा सालना नेपाल, पर्सा जिल्ला, बिन्दवासिनी गाउँपालिका प्रसौनी भाटा गाउँमा अवस्थित श्री मसरुर पब्लिक आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । दुई दिवसीय रुपमा आयोजना भएको सो जलसा सालना कार्यक्रममा प्रमुख अतिथिको रुपमा अन्तर्राष्ट्रिय अहमदिया संघ (जमात)का विश्वव्यापी खलिफाको प्रतिनिधित्व गर्दै वकिलुलमाल अर्थात् नेपाल, भारत र भुटानका इन्चार्ज तथा संघका अन्तरराष्ट्रिय आर्थिक महाशाखा प्रमुख पिएम रसिद उपस्थित थिए ।
जलसा सालना कर्यक्रमको उद्घाटन समारोहमा देशभरिबाट उपस्थित भएका सो संघका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि पिएम रसिदले आजभन्दा करिव १३० वर्ष पहिले भारतको एउटा सानो गाउँ कादियानबाट सुरु भएको सुधावादी इस्लामिक संगठन अहमदिया संघ अहिले संसारका दुईसय भन्दा बढी देशहरुमा फैलिएको बताए । इस्लाममा रहेका कयौं अन्धविश्वासहरुलाई चिरेर आफ्नो संघले कुरानका सहि शिक्षा दुनियाँ सामु देखाएको हुनाले नै आफ्नो संघ अगाडी आएर विश्वमा स्थापित भएको प्रमुख अतिथि रसिदले बताए ।
कार्यक्रममा विशेष अतिथिको आसनबाट बोल्दै पर्सा क्षेत्र नम्बर ३ का संघीय सांसद हरिनारायण रौनियारले अहमदिया संघ नेपालले नेपालमा शान्ति तथा मानवसेवाको लागि र विश्वमा सो जमातले शान्तिको प्रवर्द्धनका लागि खेलेको भूमिकाको प्रशंसा गरे । २७ वर्षदेखि अहमदिया संघले नेपालमा मानव सेवा र शान्तिको क्षेत्रमा काम गरेको आफूलाई जानकारी भएको बताउँदै यस्तो धार्मिक संघ नेपालमा कमै रहेका उनको धारणा थियो । वार्षिक उत्सव कार्यक्रम जलसा सालना सफलताको शुभकामना दिंदै उनले भने, ‘विश्वमा शान्ति स्थापनाको लागि यो संघले खेलेको भूमिका प्रशंशनिय छ ।’
कार्यक्रममा बिन्दवासिनी गाउँ पालिकाका अध्यक्ष श्रीलाल साह कानु, गाउँपालिका उपाध्यक्ष किरण देवी, ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र वीरगंजबाट गोकुल गुभाजु, समाज कल्याण परिषदका पूर्वउपाध्यक्ष प्रमोद मेहता, ख्रिष्टियन समाज मधेश प्रदेशका अध्यक्ष डा. पिटर कमलेश्वर, समाजसेवीहरु प्रमोद तिवारी, गम्भिरा साह तेली, डा.हरिकृष्ण प्रसाद लगायतका व्यक्तित्वहरुले शुभकामना व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रम संघका केन्द्रिय अध्यक्ष करुल होदा अन्सारीको अध्यक्षतामा भएको थियो भने संघका वीरगंज इञ्चार्ज हासिम अहमदले संचालन गरेका थिए । कार्यक्रमको दोस्रोदिन अर्थात् उद्घाटन समारोहको भोलिपल्ट जलसामा प्रवचन लगायत कुरानका श्लोक वाचन, संस्थाको प्रगती विवरण प्रस्तुत लगायत गरिएको थियो । दोस्रो दिनको कार्यक्रम संघका राष्ट्रिय सरदार मोहन मोइन राउतको अध्यक्षतामा सम्पन्न भएको थियो ।
जलसा सालना कार्यक्रममा संघका सलिम अहमद गदी, समिन अहमद, डा.स्माइली मिँया, हैदर मियाँ, नजरुल हक, श्री मसरुस पब्लिस आधारभूत विद्यालयका प्रधान अध्यापक सजाद हुसेन अहमद लगायत सो संघका सयौं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
हेरौं थप तस्वीरहरु