काठमाडौं । पर्यटन क्षेत्र नेपालका लागि आयस्रोतको स्थायी माध्यम नभएपनि ऋतु अनुसार हुने आरोहणले नेपाल र नेपालीलाई भने केही राहत चाहिँ पक्कै दिएको छ ।
यसैबिच वसन्त ऋतुमा नेपालमा हुने हिमाल आरोहणलाई अनुगमन तथा सहजीकरण गर्नका लागि समिति गठन गरिएको छ । पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि राखेर समिति गठन भएको विभागले जनाएको छ ।
विभागका अनुसार सन् २०२२ को वसन्त ऋतुमा खुम्बु क्षेत्रमा हुने पर्वतारोहण सम्बन्धी विभिन्न गतिविधिलाई नियमित, मर्यादित र व्यवस्थित बनाउने काममा आवश्यक समन्वय तथा सहजीकरणमा यो समिति सक्रिय हुनेछ ।
समितिको सदस्यमा सेनानी किशोर अधिकारी, प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डे र सगरमाथा आरोही संघबाट निशा अधिकारी सदस्य तोकिएका छन् । साथै, हिमालयन उद्धार संघ, सगरमाथा प्रदूषण नियन्त्रण समितिबाट एक/एक जना प्रतिनिधिलाई समेत सदस्य तोकिएको छ ।
समितिमा नापी अधिकृत खिमलाल गौतमले सदस्य सचिवको भूमिका निर्वाह गर्ने भएका छन् । वसन्त ऋतुमा सगरमाथा क्षेत्रमा आरोहीको ठूलो भीडभाड लाग्ने गर्छ । विभागका अनुसार अहिले आरोहीलाई अनुमति दिन सुरु भइसकेको छ ।