• बैशाख २२ २०८३, मंगलवार

प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने

चैत्र १४ २०७८, सोमबार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ गते शुक्रबार भारत भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाले चैत १८ गतेदेखि २० गतेसम्म भारत भ्रमण गर्नेबारे औपचारिक जानकारी दिएको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत जान लागेका हुन्।

प्रधानमन्त्री देउवासँगै उनकी पत्नी डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा. नारायण खड्कालगायतका उच्च पदस्थ व्यक्ति पनि भारत जाने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच चैत १९ गते भेटवार्ता हुनेछ । उनीहरूले संयुक्त रूपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री देउवा यसअघि पनि भारत भ्रमणको तयारीमा थिए । तर कोरोनाका कारण कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्द भएको थियो ।