• बैशाख २२ २०८३, मंगलवार

विकास निर्माणको काममा स्थानीयलाई नै जिम्मेवारी दिनुपर्छ : प्रधानमन्त्री देउवा

चैत्र १२ २०७८, शनिबार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बतएका छन् ।

शनिबार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीयहरुलाई नै विकास निर्माणको काम दिनुपर्ने बताएका हुन्। उनले विकास निर्माणको काम स्थानीय सरकारलाई दिएकोले प्रायजसाे काम राम्रो र छिटो तथा गुणस्तरीय ढङ्गबाट सम्पन्न भएको पनि बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन अति आवश्यक छ । अहिलेसम्म राम्रो काम भएको पनि छ । सबै ठाउँमा त भन्न सकिँदैन । ऐतिहासिक धाम र सांस्कृतिक दृष्टिकोणले भरिपूर्ण रहेको ललितपुर कला संस्कृतिको क्षेत्रले चिनिन्छ ।’

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकामा भएको विकास राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने विश्वास लिएको बताए । २०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा क्षति पुर्याएको थियो ।

यस मन्दिरको पुनर्निर्माण स्थानीय व्याबसायी र दाताहरुको आर्थिक सहयोगमा भएको हो । पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो । फाइन आर्ट सिटीको नामले चिनिएको ललितपुरको पहिचान यहाँको सम्पदा हुन् । यो मन्दिर झण्डै तीन सय वर्ष अघि श्रीनिवास मल्लको पालामा निर्माण भएको हो।