काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आसन्न निर्वाचनमा गरिने चुनावी तालमेलको जिम्मा तल्लो तहलाई नै दिनुपर्ने बताएको छ।
पौडेल निवास बोहराटारमा शुक्रबार बिहान सम्पन्न बैठकले स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको निर्णय सम्बन्धित कार्यसमितिले नै गर्न पाउनुपर्ने विषय आजको केन्द्रीय समिति बैठकमा उठाउने निर्णय गरेको हो।
चुनावी तालमेल सैद्धान्तिक रुपमा ठीक रहेको भन्दै स्वीकार गर्ने निर्णय गरिएको एक नेताले बताए। तर, तल्लो तहको अवस्थाबारे केन्द्र बेखबर हुन सक्ने भएकाले तालमेलको निर्क्योल गरेर निर्णय गर्ने अधिकार भने उतै दिनुपर्ने निर्णय गरिएको उनले बताए।
भेलाले पार्टीको विधानअनुसार आसन्न निर्वाचनमा उम्मेदवारलाई टिकट वितरण गर्नुपर्ने निष्कर्ष निकालेको ति नेताले बताए। भेलामा सहभागी नेताहरुले आगामी निर्वाचनहरूमा चुनावी तालमेल आवश्यक भने रहेको बताएका छन्।
भेलामा पूर्वमहामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यसमेत रहेका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्यद्वय सदस्य बलबहादुर केसी, दीपक गिरीलगायत सहभागी थिए।
भेलामा सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामा पनि धादिङका निवर्तमान सभापति रमेश धमला, कास्कीका निवर्तमान सभापति कृष्ण केसी, बागमती प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठलगायत नेता सहभागी थिए।