काठमाडौँ। स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा एक महिला प्रहरी जवानको ज्यान गएपछि मोरङको लेटाङमा सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु घोषणा गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु घोषणा गरिएको हो ।
दक्षिणमा लेटाङ नगरपालिका-३ र ४, लेटाङ-५ का सबै क्षेत्र, उत्तरमा लेटाङ-६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ ।
गत शुक्रवार होलीको दिन एक शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा आइतबार स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो। घटनामा केही प्रहरी र स्थानीय बासिन्दा समेत घाइते भएका छन् ।
होली खेल्ने क्रममा घर पुगेका शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको १२ वर्षीया छात्राले बताएपछि विद्यालयमा यसबारे छलफल भइरहँदा झडप भएको हो । छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारबाही बचाउन लागेको भन्दै शिक्षा विकास माविका विद्यार्थी र स्थानीय बासिन्दा आक्रोशित भएका थिए । उनीहरुले आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरेका तर प्रहरीले स्थानीयलाई शिक्षक बुझाउन नमिल्ने बताएपछि झडप भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास र हवाई फायर गरेको थियो ।