तेह्रथुम। निलो आकास। आकासमुनि कही भिरालो त कही समथर जमिन। त्यही भिरालो जमिनमा यति बेला ढकमक्क फुलेको लालीगुराँसले पर्यटकलाई स्वागत गरीरहेको छ । वसन्त ऋतुको आगमनसँगै चोलुङ पार्कको छेउमा फुलेको गुराँससँगै यतिबेला सेल्फी लिने र टिकटक बनाउनेको भिड लाग्न थालेको छ ।

पार्कमा फुलेको गुराँससँग रमाउन आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको स्थानीयबासी बताउँछन् । यही कारण तिनजुरे मिल्के जलजले (टिएमजे)को प्रवेशद्धारको रुपमा रहेको पार्क पर्यटकले भरिभराउ बन्न थालेको छ । टिएमजेलाई गुराँस राजधानी पनि भनिन्छ । गुराँस फुल्ने सिजन सुरु भएसँगै यस क्षेत्रको स्वरूप नै रंगिन बनेको छ । यहाँका होटल व्यावसायी समेत पर्यटकको स्वागत सत्कारका लागि आतुर छन् ।
फागुनदेखि वैशाखसम्म फुल्ने गुराँस पर्यटकको मुख्य आकर्षण हो । कोरोना महामारीले थलिएको पर्यटन व्यावसाय बिस्तारै फस्टाउन थालेको छ । विगतका वर्षहरूभन्दा यसवर्ष अधिक मात्रामा हिउँ परेसँगै गुराँसको सिजनअघि नै पर्यटकहरू आउँन थालेका थिए । हिउँमा रमाएका पर्यटकको चाप सेलाउन नपाउँदै गुराँस हेर्ने बढेका छन् । विभिन्न ठाउँबाट चोलुङ पार्क पुगेका आन्तरिक पर्यटकहरुले गुराँसको बोटमा फोटो समेत लिने गर्छन् ।
यहाँ विशेषगरी सिजनमा वसन्तपुरको चोलुङ पार्क, आरआर गार्डेन, घुर्बिसे, पाथीभरा, चौकी, मंगलबारे, गुफापोखरी हुँदै तिनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फुल्ने गर्छ । यतिबेला भने यसक्षेत्रको तल्लो भेगबाट बिस्तारै माथिल्लो भेगतर्फ गुराँस फुल्न थालेको छ ।
गुराँससँगै प्राकृति सुन्दरतामा रमाउन चहने पर्यटक पनि यहाँ आउँछन् । खासगरी सार्वजानिक बिदा तथा शनिबारका दिन आन्तरिक पर्यटकको चाप अलि बढी हुन्छ ।

विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये यहाँ २८ प्रजाति पाइन्छ । गुराँस संरक्षणका लागि स्थानीय वन उपभोक्ता समितिले गुराँसको बिरुवा रोप्ने लगायत काम गर्दै आएको छ । गुराँस एक हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइमा पाइन्छ