चितवन। नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एउटा ध्रुवको नेतृत्व एमाले र अर्को ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताए ।
अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने बताउँदै उनले भने, “केही च्याखे थाप्ने र दाउपेच हेर्ने बाँकी रहे पनि राजनीति दुई ध्रुवमा बाँडिन्छ ।” अब हुने स्थानीय तहको निर्वाचन र त्यसपछिको प्रदेश तथा सङ्घीय निर्वाचनको परिणामले त्यसलाई प्रष्ट पार्ने उनको भनाइ छ ।
स्थानीय तहको निर्वाचन एमालेको दबाबका कारण समयमै हुन लागेको भन्दै उनले निर्वाचन नगर्न विभिन्न षड्यन्त्र भएको आरोप लगाए । निर्वाचनको समयमा जनप्रतिनिधिविहीन बनाउन नहुने तर्क गर्दै उनले भने, “सङ्घीयमा निर्वाचन हुँदा सरकारविहीनको कल्पना गर्न सकिँदैन, त्यसैगरी स्थानीय तह पनि रित्तो हुनु हुँदैन ।”