काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोरखाको लाप्राक पुगेर वृद्धभत्तासहितको सामाजिक सुरक्षा कार्यक्रम आफूले सुरु गरेको बताएका छन्।
शुक्रबार लाप्राकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
‘मान्छेले गुण पनि बिर्सिँदा रहेछन्। बूढापाकालाई नेपालमा भत्ताको व्यवस्था कसले गर्यो? त्यो बेलाको पार्टी, जसको नेतृत्व माधव नेपालले गरेको कुरा लाप्राकले बिर्सियो कि!’, उनले भने, ‘२०५१ सालको सरकारमा मनमोहन अधिकारी प्रधानमन्त्री र म उपप्रधानमन्त्री थियौँ। हाम्रै पार्टीले वृद्ध भत्ता दिन थालेको हो, हामीले थालेको कुराको त वास्तै गर्दैनन्। स्याबास! त भन्नुपर्ने हो नि।’उनले वृद्ध भत्ताको जस आफूले लिने क्रममा धन्यवाद दिन पनि आग्रह गरे।
अध्यक्ष नेपालले २०५१ सालमा आफूहरुकै सकारले देशका चार हजार गाउँलाई सम्झिएको पनि जिकिर गरे। ‘हाम्रो सरकारले २०५१ सालमा देशका ४ हजार गाउँलाई एकैचोटी सम्झियो। त्यो बेलाको गाविसमा बस्ने जनतालाई वर्षको तीन लाख रुपैयाँ दिएका थियौँ’, उनले भने, ‘आफ्नो गाउँ आफैँ बनाऊँ भनेर त्यो रकम दिन थालेका थियौँ। अहिले त्यो ३ लाख ३ करोड भएको छ। अहिले त्यो ३ करोड ३० करोड भएको छ।’
उनले लाप्राक पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेको बताए।