• बैशाख २२ २०८३, मंगलवार

कांग्रेसले लखेट्न थाल्यो मात्रै एमालेसित तालमेल हुन्छ : दाहाल

चैत्र ३ २०७८, बिहीबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग सहकार्य र तालमेल हुने सम्भावना नरहेको बताएका छन् ।

रुपन्देहीमा बिहीबार प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले अहिले तत्काल एमालेसँगको सहकार्य र तालमेलको सम्भावना आफूले नदेखे बताएका हुन् । तर उनले तालमेलको विषय नेपाली काँग्रेसको व्यवहारमाथि पनि भर पर्ने बताए ।

स्थानीय चुनावमा एमालेसँग तालमेल गर्ने बारेमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै दाहालले काँग्रेसको मूल नेतृत्व हालकै गठबन्धन जोगाउने पक्षमा रहे पनि केही नेताहरू अतिवादी ढङ्गले प्रस्तुत भइरहेकाले राजनीति सम्भावनाको खेल पनि हुने भएकाले त्यो सम्भावना पनि बाँकी रहेको बताए ।

‘अहिले हामी ५ दलको गठबन्धनमा छौँ । सरकार पनि त्यसरी नै चलिरहेको छ । त्यसकारण तत्काल एमालेसँग तालमेल या गठबन्धन गर्ने सम्भावना हामीले देखेको छैनौ’, प्रचण्डले भने, ‘हुन त देशका अगाडि गम्भीर समस्या आएपछि हामी माओवादी सङ्कटको निकास दिन जतिसुकै तितो मिठो भए पनि सहज ढङ्गले छलफल गर्ने र समझदारी बनाएर निकास निकाल्ने कोशिस गरेका छौँ ।’

उनले त्यही विचारकै कारण सशस्त्र द्वन्द्व शान्तिपूणर् राजनीतिमा परिवर्तन हुँदै निर्वाचन सम्भव भएको पनि बताए । त्यस क्रममा प्रचण्डले केही दिन पहिला एमसीसी प्रकरणमा केपी ओलीसँग भएको संवादको घटना पनि सुनाए ।

‘एमसीसीको समस्या समाधानका लागि म र नारायणकाजी समेत केपी ओलीसँग छलफल गर्न गएका थियौं । देश अप्ठेरो पर्यो, निकास दिन पर्यो भनेर भन्दा उहाँमा कहीँ कतै देशप्रति चिन्ता पनि देखिएन । त्यसका निम्ति पहलकदमी पनि देखिएन, बडो निष्क्रिय’, प्रचण्डले भने, ‘बरु उल्टै सभामुखलाई पहिला कारबाही गरेर आउनुस्, १९ पृष्ठ लामो उहिलेको नेकपाकालको आरोप खारेज गरेर आउनुस् भन्नुभयो । यति पूर्वाग्रही र निषेधात्मक सोच भएकासँग कुरा गर्न पनि किन आइएछ भनेजस्तो बनाउनुभयो ।’

त्यसकारण त्यो प्रवृत्तिसँग तत्काल सहमति र समझदारी हुने आफूले नदेखेको प्रचण्डले बताए । तर उनले काँग्रेसको व्यवहारमा पनि भर पर्ने भएकाले सम्भावनाको ढोका बन्द नै भएको अवस्था भने नरहेको बताए । ‘तर यो कुरा एक हदसम्म नेपाली काँग्रेसको व्यवहारमाथि पनि भर पर्ने कुरा हो । राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन, त्यही भएर मैले भन्ने गरेको छु यो सम्भावनाको खेल पनि हो ।’

तालमेलबारे काँग्रेसका केही नेताको टिप्पणीबारे पनि प्रचण्डले असन्तुष्टि जनाए । ‘नेपाली काँग्रेसका केही नेताहरू भन्ने गर्छन् नि माओवादीसँग कुनै हालतमा तालमेल गरिँदैन । हुनै सक्दैन भन्ने ढङ्गले असाध्यै अतिवादी ढङ्गबाट बोल्ने केही नेता देखिनुभएको छ’, प्रचण्डले थपे, ‘हुन त प्रधानमन्त्रीले उहाँहरूलाई अब बोल्न बन्द गर भनिसक्नुभएको छ । काँग्रेसले लखेट्न नै थाल्यो भने त परिस्थिति के हुन्छ भन्न सकिँदैन । तर नेतृत्व मुख्यतः प्रधानमन्त्री यो गठबन्धन हर हालतमा बचाएर लैजानुपर्छ, मिलेरै जानुपर्छ भन्नेमा भएकाले मैले भनेजस्तो अवस्था आउला भन्ने मैले देखेको छैन ।’