• बैशाख २३ २०८३, बुधबार

अनुमति बिना प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिक पक्राउ

चैत्र १ २०७८, मंगलवार

बैतडी । अनुमति बिना प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिक पक्राउ परेका छन् ।

बैतडी जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौडी क्षेत्रमा प्याराग्लाइडिङ गरिरहेका अष्ट्रियाका नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३२ वर्षीय फिलिप जेल्नर रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट नियन्त्रणमा लिइएको हो।

प्याराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि उनले बिनाअनुमति प्याराग्लाइडिङ गरेकाले नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। भारतीले भने, ‘नियन्त्रणमा रहेका उनले पोखराबाट बसमा आएको भनेका छन्, बसमा आएको टिकट छैन, राहदानी पनि पोखरामै छ भनेको छ।’

नियन्त्रणमा लिइएका जेल्नरसँग अष्ट्रियामा प्याराग्लाइडिङ गर्ने अनुमतिपत्र रहेको भने नेपालको लागि अनुमति नरहेको भारतीले बताए। मार्च ३० सम्म नेपालमा रहने पर्यटक भिसा रहेका उनलाई आवश्यक कारबाहीका लागि मंगलबार नागरिक उड्डयन कार्यालय धनगढी पठाइएको छ।