काठमाडौं । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ काठमाडौं आइपुगेका छन् ।
नेपालको दुईदिने औपचारिक भ्रमण गर्न निजी विमान चढेर श्रीलङ्काबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र यहाँस्थित साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भोलि परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भेटवार्ता गर्नेछन्। भेटवार्तापछि दुवै देशका परराष्टमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ ।
भोलि अपराह्न उनी स्वदेश फर्कने कार्यक्रम छ ।