• बैशाख २२ २०८३, मंगलवार

ओलीलाई प्रधानमन्त्री र सुशीललाई राष्ट्रपति अफर गरेपछि संविधान बन्यो : प्रचण्ड

फाल्गुन २८ २०७८, शनिबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी संकटमोचनको अवस्थामा रहेको बताएका छन्। उनले माओवादी देशलाई निकास दिन अगाडि बढ्नुपर्ने मुख्य दायित्वमा भएको बताए।

शनिबार नुवाकोटको बिदुरमा स्व. नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले युद्धलाई शान्तिदेखि संविधानको बाटोमा ल्याउन असाधारण भूमिका खेलेको बताए।

‘जनयुद्धलाई शान्तिपूर्ण ल्याउने कुरा सामान्य कुरा थिएन, २०६३ पछिको परिवर्तनलाई लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउनु पनि युगान्तकारी थियो,’ उनले भने, ‘गणतन्त्रपछि नयाँ संविधान घोषणा पनि सामान्य थिएन।’

शान्ति सम्झौता विशेषगरी सेना समायोजनमा आफूले ठूलो जोखिम मोलेको उनले दाबी गरे।

‘मैले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भनेको थिएँ, एक दिन पनि ढिलो भयो भने सयौं मानिसको ज्यान जाने खतरा देखेको थिएँ,’ उनले भने, ‘संविधान घोषणा गर्ने बेलामा राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब आएका थिए।’

दाहालले थपे, ‘मैले मिस्टर केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको हुँ, संविधान बनोस् तपाईंलाई म प्रधानमन्त्री प्रस्ताव गर्छु भनें, सुशील कोइरालालाई तपाईं पाँच वर्ष राष्ट्रपति बन्नुहोस् पनि भनेको हुँ। त्यसपछि संविधान बन्यो, त्यति सजिलै बनेको होइन।’

इतिहासमा डरलाग्दो दबाब र धम्की आफूले झेलेको भन्दै दाहालले इतिहास र जनताले सत्य के हो एक दिन मूल्यांकन गर्ने बताए।

एमसिसीमा विभाजित भएको राजनीति र देशलाई एकतावद्ध गरिएको भन्दै दाहालले १२ बुँदे घोषणाले नयाँ बाटो निकालेको बताए। दाहालले चुनावमा जनताले त्यसको फैसला गर्ने बताए।